भौतिक पूर्वाधार निर्देशनालय
परिचय
वि.सं. २०१२ सालमा प्रहरीको विधिवत स्थापना भएको करिव २ दशक पछि वि.स. २०३१ सालमा ५ जना प्राविधिक कर्मचारी रहेको इन्जिनियरिङ् शाखाको स्थापना भई उक्त शाखा क्रमशः सुदृढ हुँदै आ.व. २०४६/०४७ मा आवास तथा भौतिक परियोजना महाशाखामा रूपान्तरण भयो । वि.स. २०५४ सालमा "प्राविधिक निर्देशनालय" को रुपमा स्तरोन्नति र वि.स. २०७५।०९।२४ गते भौतिक पूर्वाधार निर्देशनालयको रुपमा नामकरण गरियो । वि.स. २०७८ सालमा आवास तथा भौतिक परियोजना महाशाखालाई भौतिक पूर्वाधार महाशाखा भनि नामकरण गरियो । हाल निर्देशनालयमा १ जना प्रहरी नायब महानिरीक्षकको दरबन्दी रहेको छ भने महाशाखामा ५६ जना विशिष्टीकृत प्राविधिक र ८ जना जनपद तर्फका कर्मचारीहरू कार्यरत रहेका छन् । भौतिक पूर्वाधार निर्देशनालयको मातहत रहेको भौतिक पूर्वाधार प्राविधिक गुल्मको वि.सं. २०४६ साल श्रावण ३२ गते श्री सशस्त्र प्रहरी गण नं १ प्राविधिक गुल्म नामकरण गरि स्थापना भएको थियो । सङ्गठनात्मक पुनसंरचना सँगै वि.स. २०७८ सालमा नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार महाशाखा, प्राविधिक गुल्म नामकरण गरिएको हो । भौतिक पूर्वाधार प्राविधिक गुल्म तर्फ विभिन्न ५ वटा ट्रेडहरु सिकर्मी, डकर्मी, पेन्टर, प्लम्बर र इलेक्ट्रिसियन प्राविधिक जनशक्ति रहेको गुल्ममा १०१ जना दक्ष प्राविधिक र २४ जना जनपद तर्फका गरी कुल १२५ जना कर्मचारी कार्यरत रहेका छन ।
नेपाल प्रहरीको पूर्वाधार अन्तर्गत स्थापना भएको इन्जिनियरिङ् शाखामा सिभिल इन्जिनियर, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, सिभिल ओभरसियर, इलेक्ट्रिकल ओभरसियर, ड्राफ्टपर्सन, स्यानिटरी ओभरसियर, सर्भेयर, लगायतका प्राविधिक कर्मचारीहरू भएको भौतिक निर्देशनालयको जिम्मेवारीमा नेपाल प्रहरीका पूर्वाधार सम्बन्धी अल्पकालीन, दीर्घकालीन योजना तर्जुमा गर्नुका साथसाथै वार्षिक रुपमा निर्माण गर्नुपर्ने योजनाहरूको नक्सा, डिजाइन, लगत इष्टमेट तयार गर्नुका साथै प्रचलित कानुनको परिधि भित्र रही जनसहयोग जुटाएर वा नजुटाई, अमानत तथा बोलपत्रको माध्यमद्वारा उच्च गुणस्तरयुक्त निर्माण कार्य सञ्चालन गर्नु र म.ले.प.ले निर्दिष्ट गरेका कागजात (नापी किताब, ठेक्का बिल, कार्य सम्पन्न प्रतिवेदन आदी) तयार गरी आन्तरिक लेखा परीक्षणमा सहयोग पुर्याई सङ्गठनको कार्यलाई पारदर्शी र उच्च आर्थिक अनुशासन कायम गर्नु, गराउनु रहेका छन् । यस्ता कार्यहरू सञ्चालन गर्दा सेवा विशिष्टीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै विशिष्टीकृत प्राविधिक कर्मचारीहरू रहेको भौतिक पूर्वाधार महाशाखा तथा प्राविधिक गुल्मको माध्यमद्वारा गर्ने गरिएको छ । प्रहरी इकाईहरूको निर्माण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य र प्रदेश स्तरसम्म सेवा विस्तार गर्ने योजना अनुरूप सातै प्रदेश प्रहरी कार्यालयहरुमा भौतिक पूर्वाधार शाखाको स्थापना भई नेपाल प्रहरीका विभिन्न इकाइहरूमा सञ्चालित निर्माण कार्यहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र समय सापेक्ष बनाउने उद्देश्यले यस निर्देशनालयले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधार शाखाहरूसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ । हाल यस भौतिक पूर्वाधार निर्देशनालय मातहत भौतिक पूर्वाधार महाशाखा, भौतिक पूर्वाधार प्राविधिक गुल्म, ट्राफिक इन्जिनियरिङ् इकाई र प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखा समेतको गरी कुल २२२ जना प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन ।
निर्देशनालयको कार्य विवरण:
• नेपाल प्रहरीको सम्पूर्ण प्रहरी इकाइहरूको भौतिक संरचनाहरू नयाँ निर्माण तथा मर्मत सम्भार, जग्गा सर्वेक्षण, नक्सा डिजाइनिङ् तथा सोको लागत अनुमान लगायतका प्राविधिक कार्यहरू निर्देशनालयको प्रत्यक्ष निगरानीमा सम्पन्न गर्ने, गराउने ।
• निर्देशनालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, सीप, दक्षता, क्षमता विकासको लागि आवश्यक एवं समुचित अनुशिक्षण, प्रशिक्षण एवं उच्च अध्ययन आदिको पहिचान गर्ने र प्राविधिक जनशक्तिलाई परिचालन गरी सङ्गठनात्मक लक्ष्य प्राप्तिको लागि सँधै अग्रसर रहने ।
• नेपाल प्रहरीका विभिन्न निर्माण योजनाहरूको दीर्घकालीन, आवधिक तथा वार्षिक कार्यक्रमहरु तर्जुमा गर्ने, गराउने ।
• मातहत इकाईहरूको निर्माण योजनाका लागि उपयुक्त स्थान पहिचान, जग्गा प्राप्ति प्रक्रियामा समन्वय गर्ने तथा निर्माण कार्यहरूको प्राविधिक सुपरीवेक्षण, नापी, अनुगमन तथा गुणस्तर नियन्त्रण सुनिश्चित गर्ने ।
• निर्माण सम्बन्धी योजनाहरूको प्रगति, लागत, गुणस्तर तथा जोखिम सम्बन्धी विवरण समेटी मासिक तथा आवधिक प्रगति प्रतिवेदन तयार गरी तालुक कार्यालयमा पेस गर्ने ।
• सम्पन्न भएका निर्माण कार्यहरूको जाँचपास, कार्य सम्पन्न परीक्षण तथा स्वीकृति प्रक्रिया सम्पन्न गर्ने, गराउने ।
• ठेक्कापट्टा मार्फत सञ्चालन हुने निर्माण कार्यका लागि बोलपत्र आव्हान, ठेक्का सम्झौता तथा अन्य आवश्यक प्राविधिक, कागजातहरू तयार गर्ने, गराउने ।
• मातहत महाशाखा, शाखाहरूको काम, कर्तव्य र जिम्मेवारीको रेखदेख, सुपरीवेक्षण, नियन्त्रण तथा निर्देशन प्रदान गर्दै प्रभावकारी समन्वय कायम गर्ने ।
• निर्माण कार्य सम्बन्धी रनिङ बिल, अन्तिम बिल, कार्य सम्पन्न प्रतिवेदन तथा अन्य लेखा परीक्षण सम्बन्धी कागजातहरू तयार गरी आन्तरिक तथा बाह्य लेखा परीक्षणमा सहयोग पुर्याउने ।
• प्रचलित कानुन, नियमावली, मापदण्ड तथा निर्देशिकाको पालना गराउँदै पारदर्शिता, जवाफदेहिता र उच्च आर्थिक अनुशासन कायम गराउने ।
• सातै प्रदेशमा रहेका भौतिक पूर्वाधार शाखाहरूसँग आवश्यक समन्वय गरी नेपाल प्रहरीलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको गुणस्तरीय र प्रभावकारी ढङ्गले निर्माण कार्य गर्ने, गराउने ।
• नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट माग भए अनुसार दक्ष सिकर्मी, डकर्मी, पेन्टर, प्लम्बर र इलेक्ट्रिसियन खटाई कार्य सम्पादन गर्ने, गराउने ।
• प्रहरी दिवस लगायत विभिन्न सभा समारोहहरुमा मर्मत सम्भार, रंगरोगन लगायतका विभिन्न प्राविधिक कार्यहरु गर्ने, गराउने ।
निर्देशनालयको सम्पर्क नं: ०१-५७१९८४४
निर्देशनालयको ईमेल ठेगाना: techdir@nepalpolice.gov.np
मातहत कार्यालय: भौतिक पूर्वाधार महाशाखा तथा भौतिक पूर्वाधार प्राविधिक गुल्म ।