प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी प्रधान कार्यालय
प्रशासन विभाग
पृष्ठभूमी:
वि.सं. २०१२ सालमा प्रहरी संगठनको विधिवत् रूपमा स्थापना भए पश्चात प्रहरी प्रधान कार्यालय भित्रका स-साना शाखा मार्फत प्रशासनिक कार्य सञ्चालन हुदै आएकोमा समयको पदचापसगै प्रहरीको कार्यक्षेत्र, दरबन्दी र प्रहरी इकाईहरूको विस्तार समेत क्रमशःवृद्धि हुँदै जाँदा पूर्वाधारको विकास, स्रोत-साधनको व्यवस्थापन तथा प्रहरी कर्मचारीको सर्वोत्तम हितको संरक्षण गर्ने कार्य विशाल र जटिल बन्दै गयो । यसै सन्दर्भमा संगठनको प्रशासनिक कार्यलाई अझ प्रभावकारी, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले मिति २०४२ साल भदौ १५ गते प्रहरी प्रधान कार्यालय मातहत प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी रहने गरी प्रशासन विभाग गठन गरी विभागीय संरचनाको रूपमा विस्तार गरिएकोमा नेपालको राजनीतिक संरचना संघीय प्रणालीमा प्रवेश गरेसँगै नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ साल जेठ २७ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागलाई मानवश्रोत एवं प्रशासन विभागमा रूपान्तरण गरिएकोमा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन प्रतिवेदन, २०७८ बमोजिम पुन: नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ फागुन ०५ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग छुट्टै गठन गरी प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी रहने गरी कार्य सञ्चालन हुँदै आईरहेको छ ।
नेपाल प्रहरीका विभिन्न कार्यालयहरूको सञ्चालन तथा जनशक्तिको प्रभावकारी परिचालनका लागि वार्षिक बजेट निर्माण गरी तालुक मन्त्रालयमा पेस गर्ने, नेपाल प्रहरी प्रधान कार्यालयदेखि मातहत प्रहरी कार्यालयहरूमा बजेट व्यवस्थापन गर्ने, प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने पोशाक, हातहतियार लगायतका भौतिक पूर्वाधार तथा बन्दोबस्ती सामग्रीको खरिद तथा व्यवस्थापन, विनियोजित बजेटको खर्च कानुन बमोजिम भए/नभएको सम्बन्धमा आवधिक अनुगमन र मूल्याङ्कन, लेखापरीक्षण तथा बेरुजु फस्यौट गर्ने साथै विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्‍चालन गर्ने कार्यहरू प्रशासन विभागको महत्वपूर्ण जिम्मेवारी अन्तर्गत रहेको छ ।

लक्ष्य
“वित्तीय, भौतिक पूर्वाधार, बन्दोवस्ती सामाग्री र कल्याणकारी कार्यक्रमहरुको व्यवस्थापनद्धारा प्रहरी संगठन र संगठनका सदस्यहरुको सर्वोत्तम हितको संरक्षण गर्नु”

उद्देश्यहरू
१.    प्रहरी कार्यालयहरुको सञ्चालन एवं प्रहरी जनशक्तिको लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन र सोको समानुपातिक र न्यायोचित वितरण गर्ने ।
२.    नेपाल प्रहरीको लागि आवश्यक स्रोतसाधन (पोशाक, सवारी साधन, हातहतियार, असबाब लगायत अन्य उपकरणहरु) खरिद गर्ने ।
३.    नेपाल प्रहरीको भौतिक पूर्वाधार अन्तर्गत भौतिक संरचनाको आवश्यकताको पहिचान, प्राथमिकता निर्धारण, निर्माण, मर्मत सम्भार लगायत भौतिक संरचना सबलीकरण गर्ने । 
४.    प्रहरी संगठनमा आर्थिक प्रशासनलाई मितव्ययी तथा पारदर्शी तुल्याउने साथै आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्न प्रहरी कर्मचारीहरुको क्षमता तथा सिप अभिवृद्धिद्धारा लेखापरीक्षण (Audit) एवम् बेरूजु फर्स्यौट सम्बन्धी कार्य गर्ने । 
५.    नेपाल प्रहरीमा खरिद गरिएका सामाग्रीहरुको प्राप्ती, सुरक्षित भण्डारण, नियम संगत वितरण र मौज्दात विवरण तयार गर्ने ।
६.    बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, अमर/सहिद प्रहरीहरु तथा तिनका आश्रित परिवारका सदस्य समेत लाभान्वित हुने गरी विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्‍चालन गर्ने ।