प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ पिता मोहन प्रसाद श्रेष्ठ तथा माता ज्ञान कुमारी श्रेष्ठको पहिलो सुपुत्रको रुपमा बि.स. २०२९ साल असार ०१ गते साबिक लुम्बिनी अञ्चल पाल्पा जिल्लामा जन्म भएको हो । उहाँ वि.सं. २०५३ साल पौष ०५ गतेबाट राष्ट्र सेवामा प्रवेश गर्नु भई सेवा प्रारम्भ गर्नुभएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएको छ । उहाँले प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वोत्कृष्ट प्रशिक्षार्थी लगायत अन्य दुई विधामा समेत प्रथम स्थान हासिल गर्नुका साथै प्रहरी सेवामा विभिन्न पदक तथा पुरस्कारहरुबाट विभूषित हुनुहुन्छ । उहाँ प्रहरी सेवाको दौरान स्वदेश तथा विदेशमा विभिन्न तालिम, अध्ययन तथा सेमिनारहरुमा सहभागी हुनुभएको छ । उहाँले अनुसन्धान, सुरक्षा, मानवअधिकार, न्याय, कमाण्ड तथा म्यानेजमेन्ट तहका तालिमहरु गर्नुभएको छ । साथै मित्रराष्ट्र Italy बाट Civilian And Military Relations Course (AMRC) सफलतापुर्वक सम्पन्न गर्नु भएको छ । उहाँ संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व शान्ति स्थापनार्थ UNMIS (सुडान), MINUSTAH (हाईटी) र UNMIL (लाइबेरिया) मा सहभागी हुनुभएको थियो ।
हाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुखको रुपमा रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले आफ्नो प्रहरी सेवाको दौरानमा जिल्ला प्रहरी कार्यालय दाङ, तनहुँ, अछाम, बाग्लुङ, कपिलबस्तु, भक्तपुर, गुल्मी र झापा साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौ, उपत्यका अपराध अनुसन्धान कार्यालय हनुमानढोका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत रही सफलतापूर्वक जिम्मेवारीहरु सम्पन्न गरी सक्नु भएको छ ।